Home / Feature Breaking news / उन्मुक्तीले मौलाएको अन्तरघात

उन्मुक्तीले मौलाएको अन्तरघात

देवेन्द्र बस्नेत
दाङ, ३० असार
स्थानीय तहको निर्वाचन अघि तुलसीपुरमा गरिएको पाँच नम्बर प्रदेश स्तरीय चुनावी सभामा कांग्रेसका शिर्षनेताहरुले सामुहिक उद्घोष गरेका थिए ‘निर्वाचनमा अन्तरघात गर्ने जो कोहिलाई ठाउँको ठाउँ कारबाही हुन्छ ।’ उनीहरुको कार्यकर्तापंक्तीबाट अपेक्षा थियो ‘पार्टीभित्रको पुरानो रोग अन्तरघात मेटियोस्, अन्तरघात कै कारण कांग्रेस विगतमा जस्तै खुम्चनु नपरोस् ।’ विगतका भएको कारवाहीको ‘फितलो’ संस्कार प्रति लक्षित गर्दै पार्टी सभापति शेरवहादुर देउवाले चेतावनी नै दिएका थिए ‘विगतमा जस्तो कारवाहीको फितलो नीति यसपटक चल्ने छैन, अन्तरघातीहरुलाई कारवाही हुन्छ र कारवाही भएकाहरु आजीवन पार्टीमा प्रवेश हुन पाउने छैनन् ।’ कांग्रेसमा चल्दै आएको अन्तरघातको पुरानो संस्कार तोड्नका लागि पार्टी शिर्ष नेताहरुले निर्वाचनको मुखैमा दिएको यो ‘हुँकार’ पूर्णतः फेल खायो । कांग्रेसका पूर्व सांसद गेहेन्द्र गिरीको ५० बर्षे राजनीतिक अनुभवले भन्छ ‘अहिले कांग्रेसको ईतिहाँसमै अन्तरघातको नांगो नाच नाचियो ।’ स्थानीय तहमा एमालेबाट पराजित कांग्रेसले पराजयको मुल कारणनै ‘अन्तरघात’ ठहर गरेको छ । पार्टीभित्रको अन्तरघातको लामो संस्कारलाई कांग्रेसले यसपाला पनि तोड्न त सकेन तर शिर्ष नेताहरुले भनेजस्तै अन्तरघात गर्नेहरुलाई कारवाही गर्ने साहस कांग्रेसले देखाउन सक्छ वा सक्दैन ? अहिलेको चासोको बिषय बनेको छ ।
अन्तरघातका कारण आफ्नो गढमै एमालेबाट ब्यहोर्नु परेको पराजयलाई ‘लज्जाजनक हार’ महशुस गरेको दाङ कांग्रेस अन्तरघात गर्नेहरुलाई कारवाही गर्ने वा नगर्ने भन्नेमा अहिले सम्म अन्यौलमै छ । यसको मुल कारण हो ‘अब हुने प्रदेश सभाको निर्वाचन ।’ अब हुने प्रदेश सभाको निर्वाचनमा कारवाहीले पार्न सक्ने सकारात्मक वा नकारात्मक असरको बहस अहिले कांग्रेसी कित्तामा बाक्लिएको छ । यसर्थ अन्तरघात गर्नेहरुलाई पार्टी भित्रै सहज व्यवस्थापन गर्ने वा कारवाही गरेरै अघि बढ्ने भन्नेमा नेताहरु दुईपक्षमा देखिएका छन् । ‘अहिले आवेशमा आएर कारवाही गरेपछि भोलीको अवस्था के हुने भन्ने पनि सोच्न जरुरी छ,’कांग्रेस दाङका सभापति किर्तिवहादुर खड्काले भने ‘यसर्थ कसरी अघि बढ्ने भन्नेमा हामीहरु गहन समिक्षामा लागेका छौँ ।’ उनको आशय कारवाही प्रादेशिक निर्वाचनका लागि फलदायि नहुन सक्छकी भन्ने हो । पार्टीभित्रका बिमतीहरुलाई सहज ढंगले व्यवस्थापन गर्न सके कांग्रेसका लागि प्रदेश सभाको निर्वाचन फलदायि हुने उनले देखेका छन् । ‘यो धेरै सुझबुझका साथ निर्णयमा पुग्नु पर्ने गहन बिषय हो,’उनले भने ‘यसर्थ हामीहरु यसमा हतारो नभई लामो समिक्षापछि निर्णयमा पुग्ने छौँ ।’
तर अर्को पक्ष छ,जसले अहिलेको अन्तरघातलाई प्रदेश सभाका लागि झनै घातक देखेको छ । यसर्थ त्यो पक्षको एकमात्रै ऐजेण्डा छ ‘अन्तरघातीलाई तत्कालै जसरी पनि कारवाही ।’ ‘यदि अहिले अन्तरघातको नांगो नाच नाचेकाहरुलाई उन्मुक्ती दिईयो भने उनिहरुको मनोबल झनै उँचो बन्छ,’तुलसीपुर उपमहानगरपालिकामा मेयरमा पराजित कांग्रेस पूर्वसांसद गेहेन्द्र गिरी भन्छन् ‘जव सम्म अन्तरघातीहरुलाई निरुत्साहित गर्न सकिदैन तब सम्म कांग्रेसको भविष्य अन्धकारै बन्छ ,यो सत्य कुरा हो ।’ उनले अहिले अन्तरघातीहरुले उन्मुक्ती पाए यसपछिका कुनै पनि निर्वाचन कांग्रेसका लागि फलदायि नहुने दाबी गरे । ‘अहिले अन्तरघात गर्नेहरुबाट भोलीको निर्वाचनमा कसरी आश गर्ने ?’उनले भने ‘उनिहरुमा अन्तरघाको भावना झनै मौलाउँछ र भोली झनै घातक बनेर उदाउँछन् ।’ अन्तरघाततकै कारण आँफुले हार्नु परेको पीडा खेपिरहेका पूर्व सांसद गिरीले अन्तरघात गर्नेहरुलाई कारवाहीको प्रकृया चलाई रहेका छन् । उनको अडान छ अन्तघातीहरुलाई जसरी पनि कारवाही गर्ने । ‘पार्टीले के गर्छ त्यो मलाई थाहा छैन,’उनले भने ‘म अन्तरघातीहरुको नामावली बोकेर कारवाहीको सिफारीसका लागि आँफै पार्टीको अनुशासन विभागमा पुग्ने छु ।’ उनले तुलसपुर उपमहानगरपालिकाका १९ वटै वडाबाट अन्तरघातको कारण र अन्तरघात गर्नेहरुको विवरण मागेका छन् ।
घोराही उपमहानगरपालिकामा मेयरमा पराजित भुपवहादुर डाँगीले पनि अन्तरघात गर्नेहरुलाई कारवाही एकमात्रै बिकल्प देखेका छन् । कांग्रेस दाङ क्षेत्र नम्बर ३ का सभापति समेत रहेका डाँगी पनि अन्तरघात गर्नेहरु माथिको कारवाहीको प्रकृया मै छन् । ‘पार्टीकै आधिकारीक उम्मेदवारलाई हराउनु चानचुने कुरा हो र ?’ उनले भने ‘यसर्थ यस्ता घातकहरुको कारवाहीको बिषय विगतमा जस्तो साम्य हुन दिईने छैन ।’ उनले पनि घोराही उपमहानगरपालिकाका १९ वटै वडाबाट अन्तरघात गर्नेहरुको सुची मगाईसकेका छन् । ति नामहरुलाई जिल्ला हुँदै कारवाहीका लागि केन्द्रीय समितिमा सिफारीस गरिने डाँगीको योजना छ ।
अहिले वडा तहबाट कारवाहीको नामावली पठाउने काम भैरहेको छ । ‘हामीहरुले स्थानीय चुनावमा घात गर्ने चारजनाको नाम कारवाहीका लागि पठाएका छौँ,’ घोराही वडा नम्बर १७ का पराजित उम्मेदवार बुझाउना चौधरीले भने ‘हाम्रो एउटा मात्रै मान्यता छ कि फरक पार्टीको चुनाव चिन्हमा भोट हाल्नेहरु कांग्रेसका कार्यकर्ता नभएकै राम्रो ।’ चौधरीका अनुसार पार्टीले कारवाही गर्ने डरले पहिलेनै चारजना वडा तहका नेताहरुले राजीनामा दिईसकेका छन् ।
सिफारीस एउटा कुरा हो । तर कांग्रेसले कारवाही गर्न सक्छ वा सक्दैन भन्ने प्रमुख बिषय हो । किनकी लामो समय देखि अन्तरघात सहँदै आएको कांग्रेसले कारवाहीको रटान वा धम्की मात्रै दिन्छ । तर व्यवहारतः कारवाही गर्ने साहस देखाउन नसकेको लामो ईतिहाँस छ । फलस्वरुप कांग्रेसभित्र अन्तरघात झन पछि झन मौलाउँदै गएको विश्लेषकहरु बताउँछन् । ‘अन्तरघात गरेर के भयो त ?कारवाही हुँदैन अनि कारवाही नै नभएपछि अन्तरघात गर्ने मनोबल स्वाविकै रुपमा बढि हाल्छ’लेख विपुल पोख्रेलको टिप्पणी छ ‘कारवाही नहुने परिपाटीलेनै कांग्रेसमा झन पछि झन अन्तरघात मौलाउँदै गएको छ,जुन संस्कार कांग्रेसका लागि घातक बन्दै गईरहेको छ ।’ स्थानीय तहको निर्वाचनमा देखिएको अन्तरघातलाई कारवाहीको माध्यमबाट मत्थर पार्न नसकिए प्रदेश सभाको निर्वाचनमा झनै धेरै मौलाउन सक्ने खतरा रहेको उनले वताए ।
उनका अनुसार २०५१ को मध्यावधि निर्वाचन देखि कांग्रेसमा अन्तरघात बढि मौलाउँदै गएको हो । त्यो बेलाको निर्वाचनमा देशैभर कांग्रेसका बागी उम्मेदवारहरु खडा भए । निर्वाचनमा कांग्रेसले पराजय भोग्नु पर्यो । निर्वाचनमा अन्तरघात गर्नेहरुलाई जिल्ला जिल्लाबाट कारवाहीका लागि सिफारीस भयो । तर कृष्णप्रसाद भट्राईले कसैलाई पनि कारवाही नहुने निर्णय सुनाईदिएका थिए । ‘त्यो बेला देखि अन्तरघातको संस्कार मौलाउँदै गयो,’पोख्रेल भन्छन् ‘कांग्रेसले अब त्यो संस्कार अन्त्यका लागि कारवाहीको साहस देखाउनै पर्छ ।’ कारवाही नहुँदा अन्तरघात गर्नेहरुको मनोबल बढ्ने मात्रै हैन,अन्तरघातको सिको बिस्तार हुँदै जाने खतरा पनि उत्तिकै रहने उनको टिप्पणी छ ।
त्यसोत, पछिल्लो संविधानसभाको निर्वाचनमा भएको अन्तरघात कांग्रेसको अर्को ज्वलन्त उदाहरण हो । उक्त निर्वाचनमा कांग्रेसको आधिकारीक उम्मेदवार विरुद्ध देशभर ‘सयपत्रि’ चुनाव चिन्ह बोकेर देशभर झण्डै दुईदर्जन बागी उम्मेदवार भिडे । ति मध्यका एक दाङ क्षेत्र नम्बर १ मा पनि थिए । निर्वाचन पश्चात क्षेत्रीय समितिबाट एकदर्जन बढि सयपत्रि पक्षधर कार्यकर्ताको नामावली केन्द्रीय समितिका कारवाहीका लागि सिफारीस भयो । केन्द्रले उनिहरुलाई स्पष्टिकरण सोध्यो । अनि भन्यो ‘उनिहरु निर्दोष हुन्,सफाई दिईएको छ ।’ सयपत्रि चुनाव चिन्ह बोकेका क्षेत्र नम्बर १ का लिलाराम खनाल पनि कारवाहीको सिफारीसमा परेका थिए । उनलाई केहि समय सम्म जिम्मेवारी मुक्त गरेको कांग्रेसले केहि समयपछि उनले संगठनमा राम्रो काम गर्न थालेको भन्दै कारवाही फुकुवा गरेको थियो ।
पार्टीलाई हराउनका लागि भुमिका खेल्नेहरुलाई कारवाही गर्दा पार्टीलाई नोक्सानी हुने भ्रम कांग्रेसले पाल्दै आएको छ । यो भ्रमबाट मुक्त भई कारवाहीको संस्कार बसाल्नु जरुरी रहेको पूर्वसांसद गिरी बताउँछन् । ‘कारवाही भैसकेको व्यक्तिको पछाडी कति जना कार्यकर्ता लाग्छन् ?पार्टीले कारवाही भएको भनेर उ प्रति अँझ कार्यकर्ताको मनोभाव कमजोर बन्दै जान्छ,’उनले भने ‘उ कार्यकर्ताबाटै नकारात्मक बन्ने भएकाले कारवाहीले पार्टीलाई कुनै असर पुर्याउँदैन,नेतृत्वले यो कुरा बुझ्नु जरुरी छ ।’ त्यसोत, उनि आँफैले पनि विगतका केहि निर्वाचनहरुमा अन्तरघातको सामना गर्नु परेको उदाहरण दिँदै गिरीले जुनसुकै निर्वाचनमा अन्तरघात गर्नेहरु पनि कांग्रेसको कारवाहीको दायरामा आउन नसकेको वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*