Home / समाचार / बुटवलमा एकातिर कांग्रेससहित तीन दल अर्कातिर एमाले एक्लै

बुटवलमा एकातिर कांग्रेससहित तीन दल अर्कातिर एमाले एक्लै

बुटवल उपमहानगरपालिकाको स्थानीय तह निर्वाचनमा अन्ततः नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रतिष्पर्धा हुने भएको छ। नेपाली कांग्रेसले माओवादी केन्द्रलाई उपमेयर र ६ वटा वडाअध्यक्ष तथा जनमुक्ति पार्टीलाई ४ वटा वडा अध्यक्ष दिएर मेयरसहित बाँकी ९ वटा वडा अध्यक्षसहित निर्वाचनमा होमिएको छ। तालमेल पछि मेयरमा नेपाली कांग्रेसका खेलराज पाण्डे र उपमेयरमा माओवादी केन्द्रका जगतबहादुर पोखरेललाई उम्मेदवार घोषणा गरिएको छ।

उता नेकपा एमालेले भने कांग्रेस, माओवादी केन्द्र र केही वडामा जनमुक्ति सँगको त्रिपक्षीय तालमेलको एक्लै सामना गर्दै छ। १९ वटा वडा रहेको बुटवल उपमहानगरपालिका दुई वटै संविधान सभा निर्वाचनमा एमाले उपमहासचिव विष्णु पौडेल निर्वाचित भएको क्षेत्र हो। एमालेले मेयरमा शिवराज सुवेदी र उपमेयरमा गोमा आचार्यलाई उम्मेदवार घोषणा गरेको छ।

२०५४ को स्थानीय निर्वाचनदेखि हरेक चुनावमा आफ्नो पकड जमाउँदै आएको एमालेलाई आफ््नो पकड कायम राख्न अहिलेको स्थानीय निर्वाचनमा भने नेपाली कांग्रेस र माओवादी केन्द्रको तालमेलको सामना गर्नुपर्ने छ। केही वडामा नेपाली कांग्रेससँग तालमेल गरेको जनमुक्ति पार्टीले मेयर उपमेयरमा भने आफ्नै उम्मेदवार घोषणा गरेको छ।

संविधानसभाको दुई वटै निर्वाचनमा एमाले उपमहासचिव विष्णु पौडेलले प्रतिनिधित्व गरेको बुटवललाई एमालेले रुपन्देही जिल्लाकै आधार इलाकाको रूपमा मान्दै आएको छ। १९ वडा रहेको बुटवल उपमहानगरपालिकामा ६६ हजार ८ सय ४३ मतदाता रहेका छन्।

रुपन्देही क्षेत्र नं. ४ मा बुटवलसँगै रहेको साविक पर्रोहा गाविस स्थानीय तह पुनर्संरचनासँगै सैनामैना नगरपालिकामा जोडिएको छ। १३ हजार मतदाता रहेको पर्रोहा अलग भएपनि ८ हजार मतदाता रहेको सेमलार भने बुटवलमा गाभिएको छ।
राजनीतिक हिसाबले एमालेको राम्रो पकड रहेको पर्रोहा छुट्टिदा बुटवलमा गाभिएको सेमलारमा नेपाली कांग्रेस केही बलियो मानिन्छ। गएको संविधान सभा चुनावमा बुटवलमा एमाले, कांग्रेस, जनमुक्ति र माओवादी केन्द्र क्रमशः पहिलो, दोश्रो, तेश्रो र चौथो स्थानका शक्ति मानिन्छन्।

एमाले उपमहासचिव पौडेलले दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका सूर्यप्रसाद प्रधानलाई करिब ६ हजार र माओवादीका डा. बाबुराम भट्टराईलाई साढे सात हजार बढी मतान्तरले पराजित गरेका थिए। तर दोस्रो संविधानसभाको निर्वाचनपछि भएको स्थानीय तह बाँडफाँडमा बुटवलको भूगोलसँगै मतदाता र राजनीतिक दलका कार्यकर्ताहरुको संख्यामा समेत घटबढ आएको छ।

नेपाली कांग्रेसले माओवादी केन्द्र र जनमुक्तिसँग तालमेल गरेर भए पनि एमालेको गढ भत्काउने अभियानमा लागिरहँदा एमालेले भने निरन्तर विजयी भएको स्थानलाई सुरक्षित राख्ने रणनीतिमा चुनावी अभियान थालेको छ।

सोही अनुरुप नै एमाले उपमहासचिव विष्णु पौडेल पछिल्लो समय बुटवलमै रहेर चुनावी अभियानमा सक्रिय रहेका छन्। कांग्रेसले माओेवादी र जनमुक्तिसँग तालमेल गरेपनि आफू एक्लैले निर्वाचन जित्ने एमालेको दाबी छ। पछिल्लो पटक पाँच नम्बर प्रदेश विभाजनविरुद्धको आन्दोलनमा होमिएको र विष्णु पौडेल अर्थमन्त्री हुँदा धेरै बजेट बुटवल लगायत रुपन्देही जिल्लामा परेको कारण मतदाताको मत जितेको एमालेको दाबी छ।

एमालेको तर्फबाट मेयरका उम्मेदवार शिव सुवेदीले ०५४ सालदेखि बुटवलबाट निर्वाचित एमाले प्रतिनिधीले गरेको जनपक्षीय कामको आधारमा बुटवलका मतदाताले आफूलाई विश्वास गर्ने दाबी गर्छन्। बुटवलबाट निर्वाचित एमालेका प्रतिनिधिले अहिलेसम्म बुटवलवासीको शिर झुक्ने काम नगरेको र अबपनि शिर झुक्न नदिने उनले दाबी गरे। सुवेदीले बुटवललाई नमुना सहर, औद्योगिक र आर्थिक सहरको रूपमा विकास गर्ने एजेन्डा अघि सारेका छन्।

उता कांग्रेस माओवादी गठबन्धनका मेयरका उम्मेदवार खेलराज पाण्डे माओवादी केन्द्रसँगको तालमेलपछि आफूले जित्ने दाबी गर्छन्। पाण्डेले पनि नमुना बुटवल बनाउने योजना रहेको बताए। नमुना र सम्वृद्ध बुटवलको योजनासहित मतदाताको घरदैलोमा पुगेको उनी बताउँछन्।

वडा नं. ११ मा उम्मेदवारको मुख्य ध्यान
अधिकांश सुकुम्बासी बस्ती रहेको वडा नं. ११ जुनसुकै राजनितिक दललाई जिताउने निर्णायक वडा बन्दै आएको छ। अहिलेसम्मका निर्वाचनमा एमालेले पकड जमाउंदै आएको सो वडामा मात्र ११ हजार ६ सय १९ मतदाता संख्या रहेको छ।
अरु ४÷५ वडा भन्दा वडा नं. ११ एउटैमा धेरै मतदाता रहेको र यही वडा नै उम्मेदवारलाई जिताउने र हराउने निर्णायक बन्ने भन्दै सबै उम्मेदवारहरुको ध्यान ११ नम्बर वडाका मतदाताको मन जित्नेतर्फ केन्द्रित बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*